इलाम  । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जित निकाल्दै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । इलामको जितमा कप्तान प्रदिप बिष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे ।

 सन्दकपुरका राकेश मगर, अविशेक राई, निशान राई, मदन मगर र रोजन घलेले गोल गरे । गोलरक्षक पुजन गुरुङको प्रहार इलामका गोलरक्षक आङ्पेल शेर्पाले बचाए । खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक शेर्पा घोषित भए । जितसंगै इलामले माङसेबुङ गाउँपालिकासंग खेल्नेछ । प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । माईजोमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा परिषदका अध्यक्ष देवेन्द्र पौडेलले स्वागत र गाउँपालिका उपाध्यक्ष प्रविना राईले स्वागत मन्तव्य राखेकी थिइन् । प्रमुख अतिथि महेश बस्नेत र सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम परिषदका सचिव महेशचन्द्र सापकोटाले संचालन गरेका थिए ।