अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित खुल्ला चौरमा मदिरा सेवनपछि भएको विवादमा एक महिलाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हिजो राति कुशलचोक अगाडि रहेको खुल्ला चौरमा अर्जुनधारा–५ कञ्चनबाडी बस्ने २४ वर्षीय किरण गौतम र अर्जुनधारा–८ कुशलचोक बस्ने २९ वर्षीया काजल बस्नेत सुवेदी अत्यधिक मदिरा सेवन गरेर बसेको अवस्थामा विवाद भएको प्रहरीले जनाएको छ।

विवादका क्रममा गौतमले काजललाई धकेल्दा उनी चौरको बीचमा सिमाना छुट्याउन बनाइएको कंक्रिटको प्लममा ठोक्किन पुगेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी काजललाई स्थानीयले उद्धार गरी उपचारका लागि शंकर अस्पताल पुर्‍याएका थिए। त्यसपछि थप उपचारका लागि बिर्तामोड हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो।

उपचारकै क्रममा आज बिहान काजलको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। पक्राउ परेका गौतममाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ।