मेचीनगर । युवायुवती तथा बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र अन्तरनिहित प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले पिसिएस प्रोडक्सनद्वारा आयोजित ‘मिस्टर एण्ड मिस मेचीनगर-२०२६’ तथा ‘मिस्टर एण्ड मिस मेचीनगर जुनियर-२०२६’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

IMG-20260621-WA0008

एक महिनासम्म सञ्चालन गरिएको प्रशिक्षण अवधिमा सहभागीहरूलाई अभिनय, नृत्य, पौडी, र्याम्प वाक, व्यक्तित्व विकास, शिष्टाचार, पदयात्रा, वक्तृत्वकला, नेतृत्व विकास तथा सेलिब्रेटीसँग अन्तरक्रियालगायतका विविध सीपमूलक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको सिनियरतर्फ इनिश राया ‘मिस्टर मेचीनगर २०२६’ तथा प्रसुक्षया हुमागाईं ‘मिस मेचीनगर २०२६’ घोषित भए। यसैगरी सुदीप्ति राई प्रथम रनरअप र आयुष राई द्वितीय रनरअप बने। ‘भोटिङ स्टार अवार्ड’ रिहाना लिम्बु तथा ‘पब्लिक च्वाइस अवार्ड’ प्रसुक्षया हुमागाईं ले प्राप्त गरिन्।

जुनियरतर्फ दियान घिमिरे ‘मिस्टर मेचीनगर जुनियर २०२६’ तथा दिव्या थापा ‘मिस मेचीनगर जुनियर २०२६’ घोषित भए। सहिना गुरुङ प्रथम रनरअप र सोनिया भारती द्वितीय रनरअप बनेका छन्। ‘भोटिङ स्टार अवार्ड’ दिव्या थापा तथा ‘पब्लिक च्वाइस अवार्ड’ सहिना गुरुङले जितेका छन्।

विजेताहरूलाई नगद पुरस्कार, स्मार्टफोन, साइकल, विभिन्न छात्रवृत्ति, क्राउन, ट्रफी, मिडिया अन्तर्वार्ता अवसर, डिजिटल मार्केटिङ तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख निर्णायकका रूपमा अर्शु महर्जन रहनुभएको थियो भने अन्य निर्णायकहरूमा डा. मनीषा सुबेदी, बिबेश राई, गीत बस्नेत, कल्पना उप्रेती प्रसाई र सुमन शर्मा सहभागी थिए।

कार्यक्रमलाई सफल बनाउन पिसिएस प्रोडक्सनका म्यानेजिङ डाइरेक्टर विवेक खड्का, अध्यक्ष पुकार कार्की, आयोजक टोली, प्रशिक्षक, अभिभावक, सहयोगी संस्था तथा प्रायोजकहरूको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ। कार्यक्रम सञ्चालन प्रयुष पौड्याल ले गरेका थिए।

यस अवसरमा पिसिएस प्रोडक्सनले आफ्नो आगामी प्रतियोगिता रोयल झापा सिजन-३ तथा सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेसका लागि दर्ता खुला गरिएको जानकारी दिँदै प्रतिभावान बालबालिका तथा युवायुवतीलाई सहभागिताका लागि आह्वान गरेको छ। आयोजकले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रममार्फत युवाहरूको प्रतिभा उजागर गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।