बिर्तामाेड । झापाका फरक-फरक स्थानमा भएकाे दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
गएराति कनकाई वडा नं ३ सुरुङगास्थित पूर्वपश्चिम राजमार्गमा दुर्गापुरबाट शिवगंजतर्फ जाँदै गरेको प्र.१–०१–०१६प ६२६२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना मोटरसाइकल चालक शिवसताक्षी ६ बस्ने ३६ वर्षीय रत्न सहनी घाइते भएका छन् । उनको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै हिजो दिउँसो कमल ३ सानो केर्खास्थित पूर्वपश्चिम राजमार्गमा धरमपुरबाट केर्खातर्फ जाँदै गरेको अनटेस्ट इभी स्कुल भ्यान आफै अनियन्त्रित भई बाटोमुनि खसेर दुर्घटना भएको छ । दुर्घटनामा भ्यान चालक कमल ४ बस्ने ४८ वर्षीय अमृतबहादुर फागो घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
त्यस्तै गएराति दमक ३ मिल चोकस्थित भित्री सडक खण्डमा दमकबाट मधुमल्लातर्फ जाँदै गरेको प्रदेश न.१–०२–०४१ प ९६४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कमल ३ बस्ने ४८ वर्षीय तेजबहादुर थापा गम्भीर घाइते भएका छन् । टाउको र बायाँ हातमा चोट लागेका थापाको दमक अस्पताल दमकमा उपचार भइरहेको छ ।
त्यस्तै बिर्तामोड ३ दृष्टि आँखा अस्पताल अगाडी बिर्तामोड– भद्रपुर पक्की सडक खण्डमा बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र१–०१–००१क १०१३ न. को टिपरले बाटो क्रस गर्दै गरेकी पैदलयात्री बिर्तामोड ३ बस्ने ७० वर्षीया लीलामाया बुढाथोकीलाई ठक्कर दिएको छ । गम्भीर घाइते बुढाथोकीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ । टिपर र टिपर चालक कचनकवल ५ बस्ने २१ वर्षीय जावेद आलमलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

















