बिर्तामोड । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल विरअमरसिंह माविमा सम्पन्न भएको हो ।

विजेता हुनेहरुमा वादविवाद प्रतियोगिता तर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोश्रो (निधि मावि) र तेश्रो सृजा काफ्ले (न्युटन्स मावि) रहेका छन् । यसै गरि निवन्ध लेखन तर्फ पुर्निका यादव पहिलो (न्युटन्स मावि), निकिता तामाङ दोश्रो (एभ्रेष्ट स्मार्ट एकाडेमी), र दिपशिखा प्रसाई तेश्रो (नवोदय फनमिन) रहेका छन् । यसैगरी स्पोर्ट क्विज तर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम (कञ्चनजंघा मावि), निश्चल कटुवाल, प्रवेशहाङ लिम्बु दोश्रो (सरस्वती एन्जल्स) र प्रशन पौडेल,निशान न्यौपाने (मोहनमाया मावि) रहेका छन् ।

यस्तै पोष्टर डिजाइन तर्फ प्रावि तह रियाना धिमाल पहिलो (एभरेष्ट स्मार्ट),सुकुन राजवंशी (न्युटन्स) र विभुत निरौला तेश्रो (एसेन्ट एकाडेमी) रहेका छन् । यस्तै निमावि तह तर्फ अन्वेशष ढुंगेल पहिलो (न्युटन्स), अनुजा अधिकारी दोश्रो (निधि मावि) र सविना विश्वकर्मा तेश्रो (एसेन्ट एकाडेमी) रहेका छन् । मावि तह तर्फ उत्प्रेक्षा राजवंशी पहिलो (विराटज्योति), प्रेम प्रकाश यादव दोश्रो (एसेन्ट एकाडेमी) र निनु भट्टराई तेश्रो (एभरेष्ट एकाडेमी) रहेका छन् ।

यस्तै प्रतियोगिताको पेइन्टिङ,ड्रोइङ तर्फ प्रावि तह अन्तर्गत सुहना सिटौला पहिलो (न्युटन्स), इभाना खनाल दोश्रो (एसेन्ट) र ग्लोरियस गुरुङ तेश्रो (नवोदय फनमिन) भएका छन् । यस्तै निमावि तह तर्फ चेन्जल राजवंशी पहिलो (न्युटन्स), विवेक राजवंशी दोश्रो (नवोदय फनफिन) र विकास राजवंशी तेश्रो (एसेन्ट एकाडेमी) भएका छन् । मावि तह तर्फ सौरभ टुडु पहिलो (एसेन्ट), शृष्टि शाह दोश्रो (नवोदय) र प्राश्ना खड्का तेश्रो (एभरेष्ट एकाडेमी) भएका छन् ।

प्रतियोगिताको रनिङ तर्फ विभिन्न तह अन्र्तगत विजेता छनोट गरीएको छ । सबै विधाका विजेताहरुले पहिलो, दोश्रो र तेश्रोले क्रमश ४ हजार,२ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाण पत्रको व्यवस्था गरिएको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सव आयोजक समिति सह–संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । प्रतियोगिताको छनोट चरणमा विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रमाण पत्र तथा पुरस्कार प्रदान गर्नु भयो । कार्यक्रममा वडा नम्बर २का वडाअध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्युटन्स अंग्रेजी स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।