काठमाडौं । गैर आवासीय
नेपाली संघ (एनआरएनए) का आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले अर्थमन्त्री
वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।
मन्त्रीको सरकारी
निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष
२०८१।०८२ को बजेटका विषयमा छलफल भएकाे छ ।
अहिले पनि श्रमिकहरुले
रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत
कम गर्ने वातावरण बनाउन उनीहरुले आग्रह गरे । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स
पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा
यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए ।
रेमिट्यान्स पठाउँदा
शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैधरुपमा पैसा पठाउने गरेकोतर्फ
सचेत गराउँदै अध्यक्ष शर्माले तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र
पुरस्कारको व्यस्था गर्न पनि माग गरेका छन् ।
जवाफमा अर्थमन्त्री
पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरुको समस्या समाधानका लागि
सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।