काँकडभिट्टा । आजदेखि पाचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । काँकडभिट्टा माध्यमिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगिता ५ बर्षको अन्तरालमा हुन लागेको हो ।

२०७६ सालमा चौथो संस्करण सम्पन्न भएपछि प्रतियोगिता स्थगित भएको थियो । मेचीनगर नगरपालिका, स्थानीय राजनीतिक दल र फुटबल प्रेमीको सक्रियतामा गोल्डकपले निरन्तरता पाउने भएको हो ।
लगभग १ करोड खर्च हुने अनुमान गरेर प्रतियोगिता आयोजना हुदैछ । बिजेतालाई १०, उपबिजेतालाई ५ लाख रुपैया पुरस्कार दिईने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउने छ भने सबैभन्दा बढी गोल गर्नेले नगद २५ हजार र ट्रफी पाउनेछ । त्यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।
प्रतियोगितामा नेपाल, भारत र उज्वेकिस्तानका ८ टिमको सहभागिता रहने छ । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जर्जियन फुटबल क्लब भारत, ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान, धरान एफसी, चर्च ब्वाईज एफसी, एपीएफ एफसी, झापा एफसी र मच्छिन्द्र फुटबल क्लबको सहभागिता रहने छ ।
उदघाट्न खेल हेर्नका लागि आउनुहुने महिलालाई कुनै शुल्क लाग्नेछैन,’ आयोजक समितिका अध्यक्ष मैनालीले भने–‘प्रतियोगिताका लागि आवश्यक पर्ने आर्थिक स्रोत लगायतको सम्पूर्ण तयारी भइसकेको छ ।’ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलालाई प्रवेश निशुल्क गरेको हो ।


















