झापा । सुनसरीकाे लाैकहीमा सशस्त्र प्रहरीकाे गाेली लागेर एकजनाकाे मृत्यु भएपछि त्यहाँ तनाव उत्पन्न भएकाे छ । नम्बर नखुलेकाे दुईवटा अटाे र एउटा सिटी सफारीमा आज राती १ बजेकाे समयमा भारतबाट ल्याउँदै गरेकाे अवैध सामान नियन्त्रण गर्ने क्रममा प्रहरीले गाेली चलाएकाे थियाे । 
प्रहरीकाे गाेली लागेर कोशी गाउँपालिका-१ लौकही बस्ने अन्दाजी ४०/४५ बर्षका बिजय शाहको घटना स्थलमै मृत्यु भएको थियाे । गएराती १ बजेकाे समयमा काेशी गाउँपालिकाकाे यादब टोल स्थित चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल बिओपीले लौकहीमा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि गाेली प्रहार भएकाे थियाे । 
नम्बर नखुलेको २ वटा अटो र प्रदेश १ -०२-००३ ह ३३१७ नम्बरको सिटि सफारीलाई चेकजाँच गर्न खोज्दा अटोमा सवार ब्यक्तिले प्रहरीलाई २ राउण्ड  गोली फायर गरेर अटो र सिटी भगाउन खोजेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा शाहकाे घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ । त्यसक्रममा प्रहरीले ५ राउण्ड गाेली प्रहार गरेकाे पाइएकाे छ । 
प्रहरीले नियन्त्रणमा लिन खाेज्दा अटाे भगाइएकाे थियाे । सिटी सफारी भने प्रहरीकाे नियन्त्रणमा रहेकाे छ । सिटीमा चिनी भेटिएकाे प्रहरीले जनाएकाे छ । घटनापछि बिओपिमा आएर करिब २०० जनाको समुहले ढुङ्गा हानी रहेका छन । उनीहरुले पूर्व पश्चिम राजमार्गकाे साे खण्डमा टायर बालेर यातायात अवरुद्व गरिरहेका छन् ।