बिर्तामोड । झापाको गौरीगंज गाउँपालिका–२ स्थित आँपगाछी बोर्डर क्षेत्रमा ब्राउन सुगरसहित आमा-छोरी पक्राउ परेका छन्।

हिजो साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारतको किसनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत–४ बस्ने ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरी कोमल कुमारी हरिजनलाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारी र बोर्डर आउट पोष्टको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा कोमल कुमारी हरिजनको साथबाट प्लास्टिकसहित २३ ग्राम २९० मिलिग्राम तथा प्लास्टिक बाहेक २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखेर थप अनुसन्धान भइरहेको छ।