बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–खुदुनाबारी क्षेत्रमा बजार अनुगमनका क्रममा विभिन्न किराना पसलबाट म्याद गुज्रिएका तथा गुणस्तरसम्बन्धी शंकास्पद खाद्यवस्तु फेला परेका छन्।

नगरपालिकाको राजश्व शाखा प्रमुख विक्रम क्षेत्री, खाद्य पोषण तथा गुणस्तर नियन्त्रण उपशाखा प्रमुख दीक्षा तामाङ, उपभोक्ता हित संरक्षण मञ्चका शेखरनाथ अधिकारी, जनप्रतिनिधि, नगर प्रहरीलगायतको टोलीले खुदुनाबारीका विभिन्न पसलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा रेग्मी ट्रेडिङबाट म्याद गुज्रिएको बेसन फेला परेको छ। त्यसैगरी भट्टराई स्टोर्सबाट मसला, रक्षा किरानाबाट बिस्कुट तथा मसला, डाककुमारी लिम्बूको किराना पसलबाट चकलेट, मसला तथा बिस्कुट बरामद गरिएको टोलीले जनाएको छ।

त्यस्तै आरोही किराना पसलबाट मसला र पापड, लक्ष्मी किराना पसलबाट मसला तथा बेसार, अर्याल किराना पसलबाट मसला, लिम्बू स्टोर्सबाट मसला र दुर्गामाता सप्लायर्सबाट पापड फेला परेको छ।

अनुगमन टोलीले पसलमा बिक्रीका लागि राखिएका खाद्य सामग्रीको उत्पादन मिति, उपभोग्य मिति, लेबल तथा गुणस्तरको अवस्थासमेत जाँच गरेको थियो। म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त सामग्रीलाई बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिइएको जनाइएको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीवितरण नगर्न र खाद्यवस्तु राख्दा उत्पादन तथा उपभोग्य मिति अनिवार्य रूपमा जाँच गर्न व्यवसायीलाई सचेत गराइएको छ।

नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।