बिर्तामोड । बिर्तामोडमा सुरु भएको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा न ७ बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा न ७ ले वडा न ६ लाई २-० गोल अन्तरले पराजित गर्यो । वडा न ७ का फिरोज राईकोले टिमका लागि २ गोल गरे ।

खेलको प्लेयर अफ द म्याच वडा न ७ का फिरोज राई भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

शनिबारको खेल वडा न ३ र वडा न ८ विच हुने आयोजकनगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । शानिवारदेखि यहि (सहिद नेत्र पार्क खेल मैदान) मा दोस्रो नगरस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता सुरु हुने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले झापामा पहिलो पटक नगरस्तरीय खेलकुद समिति गठन गरेर बजेट विनियोजन गर्ने बिर्तामोड नगरपालिका भएको बताइन् । उनले जेनजीका नाममा भएको आन्दोलनले नगरका सबै क्षेत्रसँगै खेलकुद पनि प्रभावित भएकाले प्रतियोगिता केही समयपछि गर्नुपरेको धारणा राखिन् ।

प्रसाईंले जेनजीका नाममा अराजक तत्वले ईतिहासमा दाग लाग्ने काम गरेको आरोप लगाउदै बिर्तामोडको १ अरब बजेट कटौति भएको जानकारी दिइन् ।

कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकप आयोजक समितिका अध्यक्ष केेदार गिरी लगायतको उपस्थिति रहेको थियो।