बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मेचीनगर ११ ले बिर्तामोड वरिर्यसको सामना गर्दैछ । त्यस्तै, आजै हुने दोस्रो खेलमा एब्सुलेट युनाइटेडविरुद्ध आरसिबी प्रतिस्पर्धाले गर्ने क्लबका अध्यक्ष दिपेन चौधरीले बताए ।
प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहनेछ । फाइनल खेल बैशाख २८ गते हुने तय गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार युवा व्यवसायी लेलिस ओडारी र दोस्रो पुरस्कार निर्मल भट्टराईले प्रायोजन गरेका छन् ।
खेल संयोजक चन्द्र भट्टराईका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ ।
फाइनल खेलमा उत्कृष्ट फिल्डर, बलर, विकेटकिपर र ब्याटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्लेयर अफ द सिरिजलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल अनुमानित खर्च ४ लाख ३ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि बिर्तामोड नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ ।


















