अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको आयोजना अर्जुनधारा नगर खेलकुद विकास समितिले गर्न लागेको हो।

जेठ ९ गतेदेखि  वडा न ९ को नमुना खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल जेठ १७ गते हुनेछ ।

समितिका अध्यक्ष सुरेन्द्र धिमाल का अनुसार प्रतियोगितामा नगरभित्रका ११ वटै वडाका टिम सहभागी हुनेछन्। नगर क्षेत्रमा रहेर राष्ट्रियस्तरमा योगदान गरेका खेलाडीहरुलाई प्रतियोगिताको अवसरमा सम्मानसमेत गरिने जनाइएको छ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले खेलाडी उत्पादन तथा पहिचानका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए।

प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। फाइनल खेलमा उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राइकर, मिडफिल्डर तथा प्रशिक्षकलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।