बिर्तामोड। झापाको अर्जुनधारामा नगरमै सुविधासम्पन्न पहिलो रंगशाला निर्माण हुने भएको छ । आज एक कार्यक्रमका बीच अर्जुनधारा रंगशालाको शिलान्यास गरिएको छ ।

वडा नम्बर ७ मा चार बिघा क्षेत्रफलमा फुटबलका लागि खेल मैदान, एकतर्फ स्टेजसहितको पक्की प्यारापिट, पक्की नाला र फेन्सिङ निर्माण हुने नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।

नगरप्रमुख गोम्देन, प्रमुख प्रशासीकय अधिकृत अनोजकुमार घिमिरे, निर्माण समितिका संयोजक मिलन बस्नेत, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले रंगशालाको शिलान्यास गरे ।

नगरपालिकाका इन्जिनियर निरज अधिकारीका अनुसार रंगशालाको निर्माण २०८३ मंसिर २५ गतेभित्र सम्पन्न गर्नेगरी ठेक्का लागेको छ । बिर्तामोडको हिम-शेर्पा-थिङ-नुमा जेभीले बैशाख ३० गते रंगशाला निर्माणका लागि सम्झौता गरेको छ ।

नगरपालिकाको ७० प्रतिशत र संघीय सरकारको ३० प्रतिशत बजेटमा बन्ने अर्जुनधारा रंगशाला चार करोड ९४ लाख १७ हजार ७८५ रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर अधिकारीले बताए ।

रंगशालाको पश्चिम क्षेत्रमा बन्ने स्टेज, चेनिजङ रुम, शौचालयसहितको प्यारापिट तीन हजार दर्शक क्षमता रहने बताइएको छ । त्यस्तै, खेल मैदानको पनि स्तरोन्नति गरिनेछ । नयाँ माटो भरेर घाँस रोप्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

यसैबीच रंगशाला निर्माण सम्पन्न भएलगत्तै नेपालकै सर्वाधिक राशि र स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिने निर्माण समिति संयोजक बस्नेतले जानकारी दिए । त्यसपछि पुरुष फुटबल पनि आयोजनाको तयारी गरिनेछ ।