बिर्तामाेड । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ ।

आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा ए डिभिजन टोली चर्च ब्वाइज युनाइटेडको महिला टिम र विभागीय टोली एपिएफ फुटबल क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक चन्द्रगढी युवा क्लबले जनाएको छ ।
यसअघि क्वार्टर फाइनलमा चर्चले भुटानको थिम्पु सिटी एफसीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । चर्चले भुटानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै, एपिएफले प्रिक्वार्टर फाइनलमा ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको थियो । बाइ पाएको संकटा एफसीलाई क्वार्टर फाइनलमा सडन डेथमा रोक्दै एपिएफले चर्चसँगको भेट निश्चित गरेको हो ।
आजको खेलको विजेता टोलीले बैशाख १४ गते फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मी नेपाल पुलिस फुटबल क्लबलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने छ । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।



















